गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको उन्नाइसौँ बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न म तपाईसामू उपस्थित भएको छु । मिति २०८० जेठ महिनाको ८ गते गाउँपालिका अध्यक्ष श्री टोप बहादुर बि. सी. ज्यूको अध्यक्षतामा अघिल्लो बैठकका निर्णयमा समीक्षा गरी विभिन्न विषयवस्तुका निर्णयमा पुगिएको छ ।

बैठकले चालु आ. व. २०७९/०८० को भौतिक तथा वित्तिय प्रगति सन्तोषजनक रहेको र अझै बढाउन कार्यप्रणालीलाई चुस्त बनाउने निर्णय गरेको छ भने, आ. व. २०८०/०८१ को लागि बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणको लागि श्री शिवा कुमारी खड्काको संयोजकत्त्वमा श्री दीपेन्द्र वली र श्री चन्द्र बहादुर राना सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।
यसैगरी स्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति र अन्य पाँच वटा विषयगत समितिका बैठक आव्हान भएका छन् भने राजश्व परामर्श समितिले आ. व. २०८०/०८१ का लागि गरेको राजश्व प्रक्षेपण अनुमोदन भएको छ ।
कार्यपालिकाको बैठकबाट गुराँस गाउँपालिकाको स्थानीय पाठ्यक्रम र शिक्षाको बार्षिक शैक्षिक क्यालेण्डर अनुमोदन भएको छ भने यसलाई आगामी प्रधानाध्यापक बैठकमा विमोचन गरी लागु गर्ने निर्णय भएको छ ।यस्तै गुराँस गाउँपालिकाको पालिकास्तरीय सार्वजनिक सुनुवाइ यहि जेठ २६ गते गरिने भएको छ ।
यसैगरी, भू-उपयोग मापदण्ड, २०८० तयार भएकोमा उक्त मापदण्डलाई पारित गरिएको छ । गुराँस गाउँपालिकाको कृर्षि विकास शाखाबाट तोकिएअनुसार गुराँस गाउँपालिकामा उत्पादन भएका विरुवाहरूको मूल्य आ. व. 2080/081 का लागि तोकिएको छ ।
बैठकबाट लम्फि स्किन डिजिज नियन्त्रका लागि औषधि खरिद गरी पशु प्राविधिकसहित सबै वडामा पठाउने निर्णय भएको छ । गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित बाँस ठाना लिफ्टिङ्ग खानेपानीको मोटर बिग्रिएको हुँदा उक्त खानेपानी सुचारु गर्न बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ ।
गुराँस गाउँपालिकाको ऐतिहाँसिक, पुरातात्त्विक, साँस्कृतिक सम्पदालाई विशेष जोड दिई अन्तर्राष्ट्रिय स्तरको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय अन्य स्थानीय सरकारसँग मितेरी सम्बन्ध समेत स्थापित गर्न सकिनेगरि यस गाउँपालिकाको नेपाली, अङ्ग्रेजी र अन्य आवश्यक भाषामा भिडिओ पार्श्वचित्र तयार गर्न प्रस्ताव आह्वान गर्ने निर्णय भएको छ ।

सचिवालय । १० जेष्ठ २०८०, बुधबार १३:३२