दीपेन्द्र ओली, सुर्खेत, मंसिर २८ (निगरानी) । सुर्खेत वीरेन्द्रनगरकी चम्पा (परिवर्तित नाम) ४ कक्षामा पढ्दै हुनुहुन्थ्यो । बिचमै पढाइ छोड्नुभयो । पारिवारिक अवस्थाका कारण पढाइ छोडेपछि १६ वर्ष नपुग्दै उहाँको विवाह भयो । घर कसरी चलाउने उहाँलाई के थाहा ? न त धेरै पढेकी न त उमेरले परिपक्क । विहे भएको ६ महिना नपाउँदै उनी घरपरिवारबाट हेलाँमा पर्नुभयो । श्रीमानबाटसमेत उहाँ हिंसाको सिकार बन्न थाल्नुभयो । उहाँका परिवारमा पनि शिक्षित कोहि थिएन । श्रीमान पनि पाँच कक्षा पढेर छोडेका । यस्तो गर्न हुँदैन भनेर सम्झाउने पनि कोही थिएन ।
पीडा सहनै नसकेकि चम्पा एक वर्षपछि भने आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्नुभयो । समस्या त उहाँलाई खासै ठूलो केही थिएन । तर पीडा निकै लामो र धेरै । सासुले काम गर्न नजान्ने, खान बनाउन पनि नजान्ने । तँ यो घरबाट निस्के भनेर सधै धम्क्याउने । श्रीमानले पनि आफ्नै आमाको पक्ष लिने । समस्या यती मात्रै थियो उहाँको । उहाँको यो समस्यालाई घरमै मिलाउने कोही भएन । प्रहरीमा उहाँले ठाडो उजुरी दिनुभयो । उजुरी दिएपछि सासु, श्रीमानलगायत अन्य परिवारहरुलाई पनि झिकाइयो । सबैलाई संगै राखेर चम्पालाई पीडा सुनाउन लगाइयो । कुरा प्रष्ट भएपछि समाधान तत्कालै निस्कियो । एक वर्षदेखि पीडित बनेकी चम्पालाई परिवारले कहिल्यै त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता जनाए । प्रहरी कार्यालयबाट उनीहरु मिलेर फर्किए ।
फर्किने बेला परिवारका सदस्यहरुले भन्दै थिए कि यो सवै आफूहरुभित्रको अशिक्षाका कारण हो । ‘अशिक्षाले बाल विवाह भयो, विवाहपछि जिम्मेवारी सम्हाल्न गाह्रो हुन थाल्यो’ पीडित चम्पाका श्रीमान भन्दै हुनुहुन्थ्यो, ‘अनि घरमा झगडा भयो ।’
यो त एउटा प्रतिनिधीमूलक घटना मात्रै हो । जिल्ला प्रहरी कार्यालयमा पुग्ने घरेलु तथा सामाजिक हिंसासंग सम्बन्धी यस्तै धेरै घटनाहरु छन् । जुन घटनाहरु सहजै रुपमा मिल्ने गरेका उदाहरणहरु पनि छ । अशिक्षाका कारण गाउँमा सानो कुरामा परिवार र समाजमा विवाद हुने र त्यो लामो समयसम्म रहिरहने गरेको पाइएको छ ।
अन्ततः समस्या कायमै रहिरहेपछि पीडितहरु जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने गरेका छन् । घर परिवार र समाजमा वर्षाैदेखिको समस्याका रुपमा रहेका कतिपय घटनाहरु प्रहरीमा आइपुगेपछि सहजै मिल्ने पनि गरेका छन् । समस्या सामान्य तर अशिक्षाका कारण बुझाईमा फरक पर्ने वा बुझ्दै नबुझ्ने भएकोले समस्या भएको सरोकारवालाहरुको भनाई छ । यस्ता हिंसा सम्बन्धी घटनाहरुको अध्ययन गर्ने हो भने पीडा दिने व्यक्ति पनि अशिक्षित र पीडित पनि अशिक्षित हुने गरेका छन् । उनीहरु दुबैले बुझ्न नसक्दा हिंसामा पर्ने गरेको भनाई छ । यद्यपी कतिपय अवस्थामा हिंसामा पर्नेहरु अशिक्षित र पीडा दिने पीडकहरु शिक्षत अर्थात शक्तिमा रहेका व्यक्तिहरु हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा हिंसा भएको भनी आउनेहरुमध्ये पनि धेरैजसो अशिक्षित व्यक्तिहरु नै हुन्छन् । जिल्ला प्रहरी कार्यालयमा पुग्नेहरुमध्ये सबैजसो अशिक्षित र त्योसंग गरिवी भएकाहरु र समुदायगत हिसावले हेर्दा दलित समुदायका व्यक्तिहरु हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतले जनाएको छ । तुलनात्मक रुपमा शिक्षित व्यक्तिहरु यस्ता घटनामा कम सहभागी हुने गरेको पाइन्छ । त्यसमा पनि शिक्षित व्यक्तिको परिवारमा पनि घरेलु हिंसाका घटनाहरु हुने तर पारिवारिक प्रतिष्ठा र इज्जत गुम्ने डरले प्रहरीसम्म नआउने गरेको सरोकारवालाहरु बताउछन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रबक्ता प्रहरी नायव उपरीक्षक बहादुर जंग मल्लले पनि हिंसा र अपराध अशिक्षासंगै जोडिएको भन्दै प्रहरी कार्यालयसम्म आउनेहरु पनि अशिक्षित व्यक्तिहरु नै हुने गरेको बताउनुभयो । अहिलेका हिंसाका घटनाहरुलाई हेर्ने हो भने अशिक्षाका कारण मदिरा सेवन र मदिराका कारण हिंसा हुने गरेको उहाँको भनाई छ । ‘हुन त सबै हिंसा र अपराधहरु अशिक्षासंगै जोडिएका छन्,’ उहाँले भन्नुभयो–‘तर अहिलेका हिंसाका घटनाहरु मदिराका कारणले हुने गरेको पाइएको छ ।’
स्क्याचःगुगलबाट !


सचिवालय । ९ पुष २०७२, बिहीबार ०४:३६