पत्रकारितामा युवा आकर्षण र चुनौति पनि

दीपेन्द्र ओली,
विहानको साढे ५ बज्नै लागेको रहेछ, मोवाइलमा आलाम् बज्यो । म झट्पट् उठेर हतार हतार उठिसकेपछि गरिने नित्यकर्म गरेँ । अव विहानको समाचार वाचन गर्न रेडियो तर्फ जाने समय भयो, त्यत्तिकैमा मेरो मोवाइलमा रिङ्गटोन बज्यो । यो फोन थियो सुर्खेतको गर्पन गाविसबाट एक जना नवजवानको । उहाँ भन्दै हुनुहुन्थ्यो,“दाई म पनि तपाईले जस्तै पत्रकारिता गर्न चाहन्छु ।”उहाँसँग कुराकानी सकेपछि म समाचारकै ध्याउन्नमा लागेँ ।

समाचार सकेर चिया पसलमा पुगियो, त्यहाँ म जस्तै पत्रकारितामा होमिएका युवा साथीहरु तथा अग्रज व्यक्तित्वहरु पनि भेटेँ ।अग्रज व्यक्तित्वहरु आफूहरुले पत्रकारिता शुरुवात् गर्ने बेलादेखिका कालखण्डहरु बारे गफिँदै हुनुहुन्थ्यो । स्वभावतःविहान चिया खाँदा पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरुका विषयमा व्यापक कुराकानी नै हुन्छ । फलानोले आज तोरा दिएछ, फलानो निकै जानकार छ, उसले त वेस्सरी मिठा र पढ्न लायक समाचार लेख्छ । यति मात्रै होइन, फलानोले राम्रो समाचार पढ्दो रहेछ, त्यसले चाँहि अल्लि सुधार गर्नुपर्नेछ जस्ता कुराहरु चल्छ नै । चिया गफकै क्रममा अग्रज एक जना दाजूले भन्नुभयो, “अरे यार अव पालो तिमारुकै हो तिमारुको उमेरमा हामी पनि कति गथ्र्यौँ गर गर ।”

हो, पछिल्लो समय आमसञ्चार तथा पत्रकारिता क्षेत्रप्रति आकर्षण वास्तवमै धेरै छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको साधारण सदस्यता दुई सय १३ जनाले प्राप्त गरेका छन् । त्यसमध्ये करिव ६० जना बाहेक अरु सवै युवा उमेर समूहका पत्रकार साथीहरु छन् । अझ यो संख्या प्रत्येक वर्ष फेरबदल भइरहन्छ । त्यसो त पत्रकारितामा लागेकाहरुलाई बाहिरबाट हेर्ने दृष्टिकोण पनि फरक छ । सँगै हाँसखेल गरेका तथा पढेलेखेका अन्य पेशामा आवद्ध व्यक्तिहरु भन्दा पत्रकारितामा रहेका व्यक्तिहरु उच्च तहमा रहेका व्यक्तिको बढि सम्पर्कमा रहन्छन् । उच्च तहका व्यक्तिहरुले पनि पत्रकारलाई गर्ने व्यवहार देख्दा अरुले त्यसलाई माथिल्लो ओहदा भनेकै पत्रकारिता हो कि भन्ने ठान्छन् । जिल्लाका प्रमुखको नाम राम्रोसँग थाहन पाउने सामान्य नागरिकले पत्रकारलाई स्पष्टसँग चिन्न सक्छ, त्यो पनि विद्युतिय सञ्चार माद्ययम रेडियो र टेलिभिजनमा काम गर्नेहरुलाई नागरिकहरुले राम्रोसँग ख्याल गरेका हुन्छन् । त्यसकारण यो एउटा सेलिव्रेटिको पेशा पनि हो ।
पत्रकारितामा आकर्षण धेरै, टिक्न सक्ने थोरैः
स्थानीय स्तरमा सञ्चार गृहहरुकोे बृद्धिसँगै सञ्ंचार क्षेत्रमा काम गर्न चाहने युवाको संख्यामा बृद्धि भएको छ । विशेषगरि पहिला श्रोता वा पाठक बनेका तथा ग्रामीण क्षेत्रबाट सदरमुकामसम्म पढाइका लागि छिरेका व्यक्तिहरुको आकर्षण सञ्चार माद्ययममा धेरै छ । म सुर्खेतकै एक सञ्चार माद्ययममा निरन्तर काम गर्न थालेको सात वर्ष पुग्न थालिसकेको छ । यो बीचमा म आफैले एउटै विषयमा करिव एक दर्जन भन्दा बढि व्यक्तिलाई शून्यता अवस्थादेखि प्रशिक्षित गर्नु परेको यथार्थता हो । यो एउटा आकर्षण पनि हो भने, एउटै विषयमा पटक पटक फरक व्यक्तिलाई सिकाइरहनुपर्ने बाध्यतासँगै समस्याको विषय पनि हो । मसँगै अरु पनि विभीन्न सञ्चार माद्ययममा काम गर्न शुरु गरेका साथीहरु कमै मात्र अहिले यो क्षेत्रमा छन् ।
टिक्न नसक्नुका कारण के ? ः
समाजका सवै क्षेत्रको समस्या वा सफलता तथा भूत, वर्तमान र भविश्य पत्रकारिताले नै उजागर गर्ने भएकाले यो सामाजिक उत्तदायित्वको पेशा हो । त्यसकारण यसलाई मूलतः सेवामूलक पेशा भन्नु म उचित ठान्दछु । कतिपयले पत्रकारितालाई जागिर भनेर सम्झन्छन्, म त भन्छु यो जागिर होइन यो त सेवा हो । जागिर भए त नियमीत त्यो पनि तहअनुसारको तलव पाइन्थ्यो नि । यसो भनिरहँदा तलव वा आर्थिक रुपमा केहि पनि फाइदा हुँदैन भनेको होइन । मासिक रुपमा दुई हजार पनि तलव नबुझ्ने पत्रकार नेपालमै छन् भने पत्रकारिता नै गर्छन् तर मासिक रुपमा दुई लाख रुपैयाँ तलव लिने व्यक्तित्व पनि छन् । समय, लगाव र परिश्रमका हिसावले पत्रकारले पाउने रकम निकै कम हो । अर्को यथार्थता के हो ? भने प्रेस काउन्सिल नेपालले पटक पटक पत्रकारको न्यूनतम् पारिश्रमिक तोक्ने गर्छ । तोकेर के गर्ने ? त्योअनुसार तलवदिन स्थानीय सञ्चार माद्ययमको ल्याकत् हुँदैन भन्ने मालिकदेखि श्रमिकसम्म सवैलाई थाह छ । त्यसकारण त सञ्चार गृहहरुले न्यूनतम् पारिश्रमिक दिन सक्दैनन् अनि पत्रकारले पनि कडि कसाई गर्दैनन् । जागिरको मानसिकता भएका तर सेवाभाव कम भएकाहरु लामो समय टिक्न सक्दैनन् ।
यस्तै पत्रकारितामा धेरै पहिलादेखि नै लागेका र कपालै सेतो बनाइसकेका अँकलहरु, केहि वर्षदेखि पत्रकारिता गरिरहेको म र मेरा सँगैका साथीहरु तथा भर्खरै पत्रकारितालाई अँगाल्दै गरेका सवै एउटै क्याटागोरीमा गनिन्छन् । कहिलेकाँहि सामान्य तवरले सरकारी तथा अन्य पेशामा आवद्ध भएकाहरुले आफूहरुलाई सजिलो पर्ने गरिकन “पत्रकार, सत्रकारलाई बोलाउने र कार्यक्रम गर्ने, पत्रकारलाई अलि अलि भत्ता दिनुपर्छ यस्तो गरिदिन्छन्, अरे यार पत्रकार त हुन्” हो यस्ता भनाईहरुकै कारण असल पत्रकारलाई आत्म स्वाभिमानमा आँच पुग्छ ।
यतिमात्रै होइन अरु निजामति सेवामै भएपछि मात्रै नभई अरु कुनै जागिरबाट अवकाश लिएर फर्किँदा उसले पेनसन पाउन सक्छ । उसको जीवन सुरक्षाका लागि सहज बन्ला तर उमेर सकिएपछि पत्रकारिताबाट पाइने चिज केहि पनि रहँदैन भन्ने बुझाई पनि छ ।
चुनौति पार लगाउने उपाय छैन ?
चुनौति भनेको पार लाग्नका लागि आइ पर्छन् । सञ्चार माद्ययममा रहेको यस्तो चुनौतिलाई पार लगाउनका लागि मेरो विचारमा लाग्छ । अहिले भएका सञ्चार माद्ययमलाई प्रेस स्वतन्त्रतालाई असर नगर्नेगरि अथवा उस्तै पर्दा सरकारका गलत कामलाई गलत र राम्रा कामको स्रहाना समेत गर्न मिल्नेगरि सरकारले आफ्नो स्वामित्वमा लिनुपर्छ र अरु नयाँ खुल्नदिनु हुँदैन, पत्रकारिता गर्नका लागि न्यूनतम् योग्यता तोक्नुपर्छ, नयाँ पत्रकार भर्ना गर्दा स्वतन्त्र आयोगमार्फत् प्रतिस्पर्धाको आधारमा गर्नुपर्छ, तलव भत्ता तहअनुसार सरकारले नै व्यवस्था गरिदिनुपर्छ । असोज १ गतेको काँक्रेविहार दैनिकमा प्रकाशित ।