चिया पसलमा भएको वहसपछि अखण्डको संघर्ष, अराजक कसरी भयो ? कसैलाई थाह छैन

दीपेन्द्र वली, २५ साउन (निगरानी) । साउनको २३ गते विहान वीरेन्द्रनगर नगरपालिका वडानम्वर ९ नौलापुरस्थित एउटा चिया पसलमा केहि विद्यार्थी र प्रध्यापकहरु चिया पिउँदै रेडियो सुन्ने र अखवर पढ्दै पनि थिए । त्यत्तिकैमा एक जना प्रध्यापकले भन्नुभयो, मध्यपश्चिमाञ्चल विकास क्षेत्रका केहि जिल्ला सुदुरपश्चिमाञ्चलका अरु जिल्लाहरुसँग संघिय प्रदेशमा लैजानु ठीक होइन । साँस्कृतिक तथा आर्थिक समृद्धिको सम्भावनाका हिसावले हालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउनुपर्छ भन्ने तर्क उहाँले गर्नुभयो ।

सवै जनाले एकमत जनाएपछि संघर्षमा जाने मोटामोटि निर्णय भयो र त्यसैअनुसार प्रध्यापक तेजविक्रम वस्नेतको नेतृत्वमा अखण्ड मध्यपश्चिम संयुक्त नागरिक संघर्ष समिति गठन गरि त्यसैबाट कार्यक्रम चले । एक जना दुई जना गर्दै धेरै जना भए मध्यपश्चिमलाई अखण्ड बनाई एउटै प्रदेश बनाउनुपर्छ भन्नेमा ।
२३ गते र २४ गतेको आन्दोलन शान्तिपूर्ण भएपनि अचानक आक्रोषित र उदण्ड बन्यो आन्दोलन । संयुक्त नागरिक संघर्ष समितिले सभा गरिरहेको थियो, त्यत्तिकैमा बजारमा युवाहरुको एउटा ठूलै हुल आइपुग्यो । त्यो हुलले पनि अखण्ड मध्यपश्चिमकै नारा लगाइरहेको थियो, धेरैजनाका हातमा लाठि थिए । ती लाठीहरु सरकारी कार्यालय, राजनितिक दलका कार्यालयहरु र नेताका निवासतर्फ बजारिए ।
जसबाट नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रीक), जिल्ला प्रशासन, मालपोत कार्यालय, जिल्ला स्वास्थ्य, जिल्ला वन, कर्मचारी मिलन केन्द्र र झुप्रा बृहत खानेपानी संस्था र पूर्वगृहमन्त्री एवम् काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको निवासमा क्षति पुगेको छ ।
सुरक्षाकर्मी र बन्दकर्ताबीच दोहोरो हानाहान भयो, घटनामा वीरेन्द्रनगर नगरपालिका वडानम्वर ४ भैरवस्थानका टीकाराम गौतम र वीरेन्द्रनगर इत्रामका यामबहादुर वि.सीको मृत्यु भएको छ । दुई दर्जभन्दा बढि घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पताल तथा नरसिंङ होमहरुमा उपचार चलिरहेको छ । त्यसलाई निन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालयले दिउसो साढे एक बजेदेखि राती नौ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गर्यो । प्रमुख जिल्ला अधिकारी वलदेवप्रसाद गौतम भन्नुहुन्छ, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कफर््यू लागेको हो, अन्य कुनै उपाय नभएपछि । यस्तो बेला गोली पनि चल्न सक्छ ।
कफर््यू जारी भएपछि जनताहरु थप आक्रोषित बनेका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको एउटा भ्यान, एउटा जेसिवी मेसिन र ट्रिपर समेत कार्यालयमै पुगेर आन्दोलनकारीले जलाएका छन् ।
यिवाहेक सडकका विभीन्न ठाउँमा राखिएका सार्वजनिक संरचनाहरुमा पनि क्षति पुगेको छ । तर संयुक्त नागरिक संघर्ष समितिका संयोजक तेजविक्रम वस्नेत भने आफूहरुले उठाएको मागलाई साथ दिनु राम्रो भएपनि उदण्डता जायज नभएको बताउनुभयो । उहाँकाअनुसार को हुन् ति व्यक्तिहरु भन्ने नै थाह छैन ।
विरोध कार्यक्रमलाई कसैले पनि नेतृत्व नगरेका तथा स्वतःस्फूर्त रुपले उदण्डता देखाउने कार्य भएकाले प्रदर्शनकारी को हुन् र कसले परिचालन गरेको हो भन्ने नै थाह छैन ।