सुर्खेत, जेठ १९ (निगरानी) । सुर्खेत जिल्लालाई पूर्ण साक्षर गाविसको रुपमा घोषणा गर्ने अभियानले तिव्रता पाएको छ ।
जेठ २५ गते सुर्खेत जिल्लालाई घोषणा गर्ने तयारी स्वरुप नगरपालिका तथा गाविसहरुलाई निःशूल्क घोषणाको काम गरिरहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण साक्षर र आधारभूततह निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक नगरपालिका घोषणा गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय नजिक बृहत कार्यक्रमको अयोजना गरी वीरेन्द्रनगर नगरपालिकालाई घोषणा गरिएको हो ।
एक कक्षादेखि ८ कक्षासम्म पढ्ने पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु पनि विद्यालयमा आइसकेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।
पूर्ण साक्षर जिल्ला घोषणा गर्नका लागि ९५ प्रतिशत साक्षर बन्नु पर्ने र अनिवार्य आधारभूत शिक्षा प्रादायक जिल्ला घोषणाका लागि आधारभूत तहमा पढ्ने उमेर समूहका ९८ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएको हुनुपर्ने हुन्छ ।
यसैबीच, सुर्खेतको लेखगाउँ गाविसलाई आज पूर्ण साक्षर गाविस घोषणा गरिने भएको छ । गाउँ शिक्षा समिति लेखगाउँको आयोजनामा लेखगाउँ गाविसको भवन प्राङ्गणमा पूर्ण साक्षर घोषणा गर्न लागिएको हो ।
गाविस सचिव नारायण थापाकाअनुसार लेखगाउँका सवै नागरिक साक्षर भइसकेका छन् । यस्तै जेठ २२ गते शुक्रबार सालकोट गाविसलाई पनि पूर्ण साक्षर घोषणा गरिँदैछ ।
१५ देखि ६० वर्षसम्मका सवै नागरिकहरु शिक्षित भएपछि सालकोटलाई पनि पूर्ण साक्षर घोषणा गर्न लागिएको हो ।
गाविस सचिव तिलकराम अधिकारीले सालकोटका १ हजार आठ सय ६ घरधुरीका सवै नागरिक साक्षर भइसकेका छन् ।
सालकोट गाविस वडानम्वर ५ को पलैँटेमा विशेष कार्यक्रमको आयोजना गरि पूर्ण साक्षर घोषणा गरिनेछ ।

सचिवालय । १९ जेष्ठ २०७२, मंगलवार ०३:१६