महिला अधिकार, समानता, समता र नेतृत्वः कागजमा छ, व्यवहारमा खोई ?

-दीपेन्द्र ओली
विश्वभर अधिकांश संख्यामा रहेका दुई थरि लैङ्गिक अवस्था भएका मानिस अथवा महिला र पूरुष भनेर हामीले चिन्ने गरेका छौँ । हुन त अहिले न महिला न पुरुष लिङ्ग भएका मानिस अथवा समलिङ्गी तेस्रो लिङ्गीहरुको पनि अधिकार र समस्याको बारेमा चर्चा हुने गरेको छ । यी तीन थरि लैङ्गिक अवस्था भएका नागरिकहरुमध्ये पनि नेपाली महिलाहरुका विषयवस्तुमा चर्चा गर्न लागिएको हो । नेपालमा महिला अधिकारबारे व्यापक बहस विमर्श भइरहँदा महिलालाई अधिकार सम्पन्न बनाउन निकै छलफल, विचार, विमर्श र गोष्ठीहरु भइरहने गरेका छन् । अधिकार प्राप्ती लैँगिक रुपमा समान हैसीयत कायम भएमा हुनसक्छ । विशेषगरि महिलालाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन निकै धेरै प्रयासहरु भएका छन् । तर पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुले अधिकार र स्वतन्त्रताको महशुश राम्ररी गर्न अझै पनि पाएका छैनन् भन्दा गलत भइँदैन । आधा धर्ति ओगटिसकेका महिलालाई सम्पूर्ण रुपले अधिकार सम्पन्न गराइनुपर्छ भनेर राज्यका सवैजसो निकायमा महिला सहभागिता, प्रतिनिधित्व र नेतृत्वका व्यवस्थाहरु गरिएका छन् । महिलालाई अधिकार सम्पन्न बनाउनका लागि भनेर सुर्खेतसहित देशभर नै सरकारी तथा गैरसरकारी पक्षबाट परियोजनाहरु समेत संचालन भइरहेका छन् ।
तर अहिले सम्म महिलाले पूर्ण रुपमा अधिकार पाए वा महिलाहरु अधिकार सम्पन्न भए भन्ने कुरा सुनिएकै छैन । भाषणमा महिलावादी आन्दोलन अनि अधिकारको चर्को वकालत गर्नेहरुकै घर घरमा महिला अधिकार हनन् हुने गरेको दृष्टान्तहरु जगजायर छन् । यस्ता कारणहरुले अझै लैँगिक विभेदको खाडल र सिमा छन् । महिलाहरुले कानूनी रुपमा अधिकार पाएर पनि समस्याहरु भोगिरहनु परेको छ । शहरी महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरुले धेरै समस्याहरुको सामना गर्नु परेको हुन्छ । अशिक्षा, वेराजगारलगायत अन्य विभिन्न समस्यालाई ग्रामीण महिलाहरुले भोग्न परेको छ । सधैँ काम तथा घरको हेलाँ, दुव्र्यवहार, बलात्कारलगायत अन्य समस्याको पनि सामना गर्न परेको छ । शहरी महिलाहरुले पनि बेरोजगार समस्या सँगै बलात्कार, पारिवारिक हिंसा र यातनाजस्ता समस्याहरुको सामना गर्न परिरहेको छ । यसमा धेरै साना साना वानी व्यवहार र चलन कारण बनेका मेरो ठहर हो ।

महिलाकै ठेक्का जस्ता बनेका कामहरुः

गाउँ वा शहरमा एउटा ठूलो कार्यक्रम हुँदैछ । त्यस्तो बेला पुरुषहरु नीति, नेतृत्वमात्रै होइन कि त्यो कार्यक्रमका अन्य व्यवस्थापकिय काममा जुट्छन् । धेरै पुरुषहरु त्यो कार्यक्रमबारे प्रचार प्रसार मात्रै होइन कि प्रमुख अतिथी, अतिथी वा वक्ता भएका हुन्छन् र अघिल्लो पट्टीको मञ्चमा गजदम्व बसिरहन्छन् । कार्यक्रममा प्रवेशस्थलमै हुन्छन् महिला । उनीहरुले नै पाहुनाको स्वागतस्वरुप पुष्पगुच्छा हातमा लिएर बस्ने, के त्यो काम पुरुषले गर्न सक्दैनन् ?, के महिलाले त्यो बाहेक अरु काम गर्न मिल्दैन ? जव कार्यक्रम शुरु हुन्छ उद्घोषकले बोलाउँछन् सम्मानीय प्रमुख अतिथी तथा अतिथी ज्यूहरुलाई व्याच वितरण गरिदिनुहुन म फलानो कुमारी वा फलानो मायाँलाई अनुरोध गर्दछु । के महिलाहरु त्यो व्याच वितरण गर्नका लागि मात्रै योग्य छन् ? कार्यक्रमका अन्य गतिविधी पनि हुन्छन्, त्यस्ता अन्य गतिविधीमा हामीलाई पनि सरिक गराए हुन्थ्यो भन्ने महिलाहरुले नसोच्ने होइन तर महिलालाई व्याच वितरणमै मात्र सीमित गरिन्छ । भाषण गर्दागर्दै पुरुषको घाँटी सुख्खा भयो, त्यो बेला पनि बनाइन्छ ए नानी पानी ल्याउ त । के अरु पुरुषले पानी ल्याएर दिन सक्दैनन् त ? पुरुषले पनि गर्न सक्ने काम महिला देखिनासाथ महिलालाई अहराइन्छ किनकी स्वागतमा महिला नै प्रयोग गर्न संस्कार छ । अगाडि पट्टी आशनमा महिलाभन्दा पुरुष धेरै छन् । आशनमा बसेकाको भाषण सुन्दा सुन्दा दिक्क लागेको बेला मनोरञ्जनको जरुरत भयो । अव मनोरञ्जनात्मक क्रियाकलापमा भने आशनमा भएकाभन्दा ठीक उल्टो पुरुषभन्दा महिला धेरै ।
तपाईलाई लागेको होला यो ठूला ठूला कुरा । आशन र भाषणका कुरा किन गरेको होला ? कुरा आशन र भाषणको मात्रै होइन, विचार गरौँ तपाई हाम्रो गाउँघरमा पुजापाठ, विवाह, व्रतिवन्ध जस्ता भइरहेका ठाउँमा महिलाको काम के हुन्छ ? टीकाको थाली बोकेर गटनेर बस्ने अनि पाहुँनापाक्षीलाई टीका लगाइदिने, भान्छामा काम गर्ने त्यो पनि भाँडा माझ्नका लागि, पानी ओसार्ने । पुरुषहरु भने नजिकै बसेर गफ चुटेर बस्नुपर्ने, धार्मिक काम हो भने धर्मग्रन्धहरु सुनाउँने अथवा जजमानी गर्ने । अव फेरी मेरो प्रश्न के पुरुषहरुले टीकाको थाली बोकेर गटनेर बस्ने अनि पाहुँनापाक्षीलाई टीका लगाइदिने गर्न सक्दैनन् ?, अनि भान्छामा भाँडा माझ्ने ठेक्का जीन्दगीभरी महिलाको मात्रै हो ? अनि धर्मग्रन्थलाई राम्रोसँग उच्चारण गर्न र वाचन गर्न महिलाले किन सक्दैनन् ?
गाउँघरमा कुनै झमेला आइलाग्यो वा विकास निर्माणका काम हुँदैछन् । गाउँका लागि महत्वपूर्ण निर्णय हुँदैछन् । त्यहाँ सक्भर छलफलका लागि पुरुष नै जानुपर्ने संस्कार । कँहिकतैबाट केहि महिला सहभागि भए पनि छलफलमा आवाज चर्का चर्का पुरुषकामात्रै । महिलाले केहि कुरा भन्न खोज्दा सुन्यानसुन्यै गर्ने तपाई हाम्रो बानी । हो यस्ता खालका साना साना विषयवस्तुमा हामीले ध्यान दिँदैनौँ । तर हामी अधिकार र समानता अनि समताका सवैभन्दा चर्का नाराहरु लगाउँछौँ । के हो अधिकार र समानता अनि समता ? जवसम्म सामाजिक रुपमा चलनचल्तीमा रहेका साना साना तर विभेदकारी बनेका हाम्रा बानी व्यवहार र संस्कारलाई बदल्न सकिँदैन, तवसम्म समानता र समता कायम हुँदैन । समानता र समताविहिन अवस्थामा नेतृत्वका के कुरा गर्नु ? त्यसकारण अव नेतृत्वका लागि पहिला वानी वदलौँ । धन्यवाद ।