-दीपेन्द्र ओली
विश्वभर अधिकांश संख्यामा रहेका दुई थरि लैङ्गिक अवस्था भएका मानिस अथवा महिला र पूरुष भनेर हामीले चिन्ने गरेका छौँ । हुन त अहिले न महिला न पुरुष लिङ्ग भएका मानिस अथवा समलिङ्गी तेस्रो लिङ्गीहरुको पनि अधिकार र समस्याको बारेमा चर्चा हुने गरेको छ । यी तीन थरि लैङ्गिक अवस्था भएका नागरिकहरुमध्ये पनि नेपाली महिलाहरुका विषयवस्तुमा चर्चा गर्न लागिएको हो । नेपालमा महिला अधिकारबारे व्यापक बहस विमर्श भइरहँदा महिलालाई अधिकार सम्पन्न बनाउन निकै छलफल, विचार, विमर्श र गोष्ठीहरु भइरहने गरेका छन् । अधिकार प्राप्ती लैँगिक रुपमा समान हैसीयत कायम भएमा हुनसक्छ । विशेषगरि महिलालाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन निकै धेरै प्रयासहरु भएका छन् । तर पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुले अधिकार र स्वतन्त्रताको महशुश राम्ररी गर्न अझै पनि पाएका छैनन् भन्दा गलत भइँदैन । आधा धर्ति ओगटिसकेका महिलालाई सम्पूर्ण रुपले अधिकार सम्पन्न गराइनुपर्छ भनेर राज्यका सवैजसो निकायमा महिला सहभागिता, प्रतिनिधित्व र नेतृत्वका व्यवस्थाहरु गरिएका छन् । महिलालाई अधिकार सम्पन्न बनाउनका लागि भनेर सुर्खेतसहित देशभर नै सरकारी तथा गैरसरकारी पक्षबाट परियोजनाहरु समेत संचालन भइरहेका छन् ।तर अहिले सम्म महिलाले पूर्ण रुपमा अधिकार पाए वा महिलाहरु अधिकार सम्पन्न भए भन्ने कुरा सुनिएकै छैन । भाषणमा महिलावादी आन्दोलन अनि अधिकारको चर्को वकालत गर्नेहरुकै घर घरमा महिला अधिकार हनन् हुने गरेको दृष्टान्तहरु जगजायर छन् । यस्ता कारणहरुले अझै लैँगिक विभेदको खाडल र सिमा छन् । महिलाहरुले कानूनी रुपमा अधिकार पाएर पनि समस्याहरु भोगिरहनु परेको छ । शहरी महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरुले धेरै समस्याहरुको सामना गर्नु परेको हुन्छ । अशिक्षा, वेराजगारलगायत अन्य विभिन्न समस्यालाई ग्रामीण महिलाहरुले भोग्न परेको छ । सधैँ काम तथा घरको हेलाँ, दुव्र्यवहार, बलात्कारलगायत अन्य समस्याको पनि सामना गर्न परेको छ । शहरी महिलाहरुले पनि बेरोजगार समस्या सँगै बलात्कार, पारिवारिक हिंसा र यातनाजस्ता समस्याहरुको सामना गर्न परिरहेको छ । यसमा धेरै साना साना वानी व्यवहार र चलन कारण बनेका मेरो ठहर हो ।
महिलाकै ठेक्का जस्ता बनेका कामहरुः
गाउँ वा शहरमा एउटा ठूलो कार्यक्रम हुँदैछ । त्यस्तो बेला पुरुषहरु नीति, नेतृत्वमात्रै होइन कि त्यो कार्यक्रमका अन्य व्यवस्थापकिय काममा जुट्छन् । धेरै पुरुषहरु त्यो कार्यक्रमबारे प्रचार प्रसार मात्रै होइन कि प्रमुख अतिथी, अतिथी वा वक्ता भएका हुन्छन् र अघिल्लो पट्टीको मञ्चमा गजदम्व बसिरहन्छन् । कार्यक्रममा प्रवेशस्थलमै हुन्छन् महिला । उनीहरुले नै पाहुनाको स्वागतस्वरुप पुष्पगुच्छा हातमा लिएर बस्ने, के त्यो काम पुरुषले गर्न सक्दैनन् ?, के महिलाले त्यो बाहेक अरु काम गर्न मिल्दैन ? जव कार्यक्रम शुरु हुन्छ उद्घोषकले बोलाउँछन् सम्मानीय प्रमुख अतिथी तथा अतिथी ज्यूहरुलाई व्याच वितरण गरिदिनुहुन म फलानो कुमारी वा फलानो मायाँलाई अनुरोध गर्दछु । के महिलाहरु त्यो व्याच वितरण गर्नका लागि मात्रै योग्य छन् ? कार्यक्रमका अन्य गतिविधी पनि हुन्छन्, त्यस्ता अन्य गतिविधीमा हामीलाई पनि सरिक गराए हुन्थ्यो भन्ने महिलाहरुले नसोच्ने होइन तर महिलालाई व्याच वितरणमै मात्र सीमित गरिन्छ । भाषण गर्दागर्दै पुरुषको घाँटी सुख्खा भयो, त्यो बेला पनि बनाइन्छ ए नानी पानी ल्याउ त । के अरु पुरुषले पानी ल्याएर दिन सक्दैनन् त ? पुरुषले पनि गर्न सक्ने काम महिला देखिनासाथ महिलालाई अहराइन्छ किनकी स्वागतमा महिला नै प्रयोग गर्न संस्कार छ । अगाडि पट्टी आशनमा महिलाभन्दा पुरुष धेरै छन् । आशनमा बसेकाको भाषण सुन्दा सुन्दा दिक्क लागेको बेला मनोरञ्जनको जरुरत भयो । अव मनोरञ्जनात्मक क्रियाकलापमा भने आशनमा भएकाभन्दा ठीक उल्टो पुरुषभन्दा महिला धेरै ।
तपाईलाई लागेको होला यो ठूला ठूला कुरा । आशन र भाषणका कुरा किन गरेको होला ? कुरा आशन र भाषणको मात्रै होइन, विचार गरौँ तपाई हाम्रो गाउँघरमा पुजापाठ, विवाह, व्रतिवन्ध जस्ता भइरहेका ठाउँमा महिलाको काम के हुन्छ ? टीकाको थाली बोकेर गटनेर बस्ने अनि पाहुँनापाक्षीलाई टीका लगाइदिने, भान्छामा काम गर्ने त्यो पनि भाँडा माझ्नका लागि, पानी ओसार्ने । पुरुषहरु भने नजिकै बसेर गफ चुटेर बस्नुपर्ने, धार्मिक काम हो भने धर्मग्रन्धहरु सुनाउँने अथवा जजमानी गर्ने । अव फेरी मेरो प्रश्न के पुरुषहरुले टीकाको थाली बोकेर गटनेर बस्ने अनि पाहुँनापाक्षीलाई टीका लगाइदिने गर्न सक्दैनन् ?, अनि भान्छामा भाँडा माझ्ने ठेक्का जीन्दगीभरी महिलाको मात्रै हो ? अनि धर्मग्रन्थलाई राम्रोसँग उच्चारण गर्न र वाचन गर्न महिलाले किन सक्दैनन् ?
गाउँघरमा कुनै झमेला आइलाग्यो वा विकास निर्माणका काम हुँदैछन् । गाउँका लागि महत्वपूर्ण निर्णय हुँदैछन् । त्यहाँ सक्भर छलफलका लागि पुरुष नै जानुपर्ने संस्कार । कँहिकतैबाट केहि महिला सहभागि भए पनि छलफलमा आवाज चर्का चर्का पुरुषकामात्रै । महिलाले केहि कुरा भन्न खोज्दा सुन्यानसुन्यै गर्ने तपाई हाम्रो बानी । हो यस्ता खालका साना साना विषयवस्तुमा हामीले ध्यान दिँदैनौँ । तर हामी अधिकार र समानता अनि समताका सवैभन्दा चर्का नाराहरु लगाउँछौँ । के हो अधिकार र समानता अनि समता ? जवसम्म सामाजिक रुपमा चलनचल्तीमा रहेका साना साना तर विभेदकारी बनेका हाम्रा बानी व्यवहार र संस्कारलाई बदल्न सकिँदैन, तवसम्म समानता र समता कायम हुँदैन । समानता र समताविहिन अवस्थामा नेतृत्वका के कुरा गर्नु ? त्यसकारण अव नेतृत्वका लागि पहिला वानी वदलौँ । धन्यवाद ।

सचिवालय । १७ फाल्गुन २०७२, सोमबार ०३:२३