
ऐतिहासिक संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपूर्ण दिनको अवसरमा आज हामी नवौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । दिगो शान्ति, न्याय, समानता, विकास, समानुपातिक समावेशी लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुनिश्चितताका लागि आजको दिन महत्वपूर्ण छ । यस घडीमा गुराँस गाउँपालिकावासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिका लागि म हार्दिक शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्दछु ।
जनअधिकार प्राप्ति र अग्रगामी परिवर्तनका लागि मुलुकमा भएका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गता भएका र बेपत्ता नागरिकहरू प्रति सम्मान प्रकट गर्दछु । संविधानको मर्म र भावना बमोजिम राज्यको पुनर्संरचना भई मुलुकमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहका सरकारहरू क्रियाशील छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको हाम्रो संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका विभेदको अन्त्य गर्नेलगायत मौलिक हक, विधिको शासन, समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, समानता र सामाजिक न्यायको सुनिश्चितता जस्ता मूलभूत विशेषताहरू शुत्रवद्ध छन् । यस संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकहरू समेत क्रियाशील हुन आवश्यक छ । आजको दिनले हामी सबै नागरिकलाई नेपालको संविधानका मूल मर्म, मूल्य र मान्यताहरू आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।
बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधताले भरिपूर्ण हाम्रो प्रदेशको सामाजिक एकता आपसी सद्भाव र सहिष्णुतामा आधारित छ । यस्ता विविधतालाई जोगाई सामाजिक एकता कायम गर्दै राष्ट्र निर्माणको मूल प्रवाहमा एकजुट हुन अपरिहार्य छ । मुलुकको समृद्धिका लागि लिइएको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा अनुरूप यसको आधारशिला “सुख, समृद्धिको लागि शासकीय सुधारः हातेमालो गरी फेरौँ गुराँसको मुहार” लाई पूरा गर्न आजको दिन महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।
अन्तमा, नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै समृद्धितर्फ मन, वचन र कर्मले एकताबद्ध भई निरन्तर लाग्न क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधिमुलक संस्था, राष्ट्रसेवक कर्मचारीज्यूहरू, सङ्घ संस्था र गुराँसवासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा आह्वान गर्दछु । धन्यवाद !
भिडिओमा हेर्नुहोस्/सुन्नुहोस्ः

सचिवालय । ३ आश्विन २०८०, बुधबार ०९:५७