समृद्धिका लागि सङ्कल्प यात्राः ‘गुराँसबासी सँग केपी ओली’ को प्रतिवेदन

जनताको प्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ गरेको छ । पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियान मङ्सिर १४ गतेदेखि आरम्भ भई पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिएको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, विषयगत हिसावले संवाद, अन्तर्क्रिया तथा छलफल, विकास कार्यको अवलोकन र ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव सङ्कलन गरिएका छन् । पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दुई सयभन्दा बढी सङ्ख्यामा नेता-कार्यकर्ता अभियानमा सम्मिलित हुनुहुन्थ्यो ।

गुराँसबासी सँग केपी ओलीः

अभियानअन्तर्गत पाँचौँ दिन अर्थात् २०८० मंसिर १८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले गुराँसबासीसँग भेटघाट र अन्तर्क्रिया गर्नुभएको छ । राष्ट्रवादका पर्यायी, समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षाको जगमा आधुनिक नेपाल निर्माणका शुत्रधार कमरेड ओलीसँग भेटघाट र अन्तर्क्रियाको लागि गुराँस गाउँपालिकाको पार्टीको गाउँ कमिटीले ‘गुराँसबासीसँग केपी ओली’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि जिल्ला कमिटी दैलेखको बैठकले समीक्षा गरेको थियो । जिल्ला कमिटीको बैठकमा पालिका कमिटीको तर्फबाट पेश भएको प्रतिवेदन यसप्रकार छ ।