दीपेन्द्र ओली, सुर्खेत, ७ माघ (निगरानी) । सुर्खेतको लेखपराजुल गाविस वडानम्वर १ मनीरामकाँडाकी चन्द्रा गुरुङ (नाम परिवर्तन) लाई मदिराले लट्ठ भएका श्रीमानले घरमै दाउराले हाने । टाउकोमा चोट लागेर घाइते भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भयो ।
घरायसी विवाद बाहिर सार्वजनिक गरेर पनि के गर्नु ? भनेर सार्वजनिक गरिएन । चन्द्राले उजुरी पनि गर्नुभएन ।
तातापानी–२ गाविसका रिमा वि.क.को पिंडा पनि कम छैन । उहाँ भन्नुहुन्छ, ‘दिनभरि काम गर्छु । साँझ ओछ्यानमा पल्टिने बेला उनी परैदेखि डाको हाल्दै आउँछन् । नकुटेको दिनै हुन्न । कुटाइ खाँदाखाँदा शरीर नै आधा बनिसक्यो ।’
बिहे गरेको आठ वर्ष भएदेखि आफूलाई श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्न थालेको उहाँ बताउनुहुन्छ । ‘पहिला त केही खाँदैनथे । जब रक्सी खान थाले, तब मेरा दुःखका दिन शुरु भए । तीन छोराछोरी छन्, जाउँ भने कहाँ जाउँ । जसोतसो सहेर बसेकी छु,’ उहाँले भन्नुभयो ।
‘रक्सी नखाएको बेला मलाई किन पिट्नुहुन्छ, मेरो के दोष छ ? भनेर सोध्छु । त्यति बेला तेरो केही गल्ती छैन् भन्छन् । तर, साँझमा सधैँ उस्तै ।’ यी घटनाबाट स्पष्ट हुन्छ, महिलाहरू आफ्नो परिवारभित्रै कति असुरक्षित छन् ? भनेर ।
ग्रामीण क्षेत्रका अधिकांश महिला मदिराका कारण घरेलु हिंसाबाट पीडित छन् । गाउँघरमा मदिराका कारण घरेलु हिंसाका घटना बढिरहेका छन् । मदिरा सेवन गरी श्रीमान्ले श्रीमतीलाई यातना दिने गरेको उनीहरूको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत समक्ष पछिल्लो ६ महिनामा मात्रै पनि एक सय ५३ वटा हिंसाका घटना भएका उजुरी परेका छन् । प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलकाअनुसार सवैभन्दा बढि शारिरीक यातना दिएका भनेर ३८ वटा उजुरी परेका छन् । यस्तै मानसिक यातना दिएका भनेर ३१ वटा, खानलाउन नदिएको भनेर २६ वटा, गाली वेइजतिका २५ वटा, विभीन्न आरोप लगाएका भनेर २० वटा र वेवास्ता गरेका भनेर १३ वटा उजुरी परेका छन् ।
६ महिने अवधिमा जम्मा एक सय ५३ मध्ये एक सय ३९ वटा उजुरी प्रहरीबाटै मिलापत्र गराईएको छ भने घरेलु हिंसासम्वन्धी एउटा मुद्दा अदालतमा दर्ता गरिएको छ ।
सुर्खेतमा अन्य विभिन्न सरकारी एवं गैरसरकारी निकायमा दर्ता भएका महिला हिंसाका घटनामध्ये पनि धेरै घरेलु हिंसाकै घटना छन् ।
श्रीमानले कुटपिट गर्ने कारणमा उनीहरूले मदिरा सेवनलाई प्रमुख कारण भनेका थिए । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो एक वर्षमा तीन सय ५७ वटा उजुरी घरेलु हिंसासँग सम्बन्धित थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) बहादुर जंग मल्लले ‘मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसाका घटनामा कमी आउने’ दावी गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘पीडित बनेर उजुरी दिन पुगेका महिलाहरुसँग सोधपुछ् गर्दा मदिरा सेवन गरेर नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खुल्न आउँछ ।’ अधिकारकर्मी पनि घरेलु हिंसाको प्रमुख कारण नै मदिरा रहेको बताउँछन् ।
महिला अधिकारकर्मी तथा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का कार्यक्रम संयोजक रिता वि.सी.काअनुसार मदिरा सेवन गरी एक न एक बहानामा श्रीमतीलाई यातना दिने काम भइरहेका छन् ।
श्रीमान्बाटै श्रीमतीको ज्यान जोखिममा छ भने, हामी कसरी महिला हिंसामा कमी ल्याउन सक्छौँ ?’ उहाँले भन्नुभयो । सबैभन्दा पहिले महिलालाई परिवारमा सुरक्षित रहने वातावरण सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
कतिपय नेपाली समाजका महिलाहरुलाई हिंसामा परेपछि के गर्ने ? भन्ने कानूनी विषयमा जानकारी नभएर पनि हिंसाका घटना कमी हुन नसकेको कानून व्यवसायीहरु बताउँछन् ।
नेपाली समाजमा शक्तिको आडमा हिंसा भइरहेकाले हिंसामुक्त समाज निर्माणका लागि महिलालाई क्षमता अभिवृद्धिसँगै आयआर्जनको पाटोमा दरिलो बनाउनुपर्ने कानुन व्यवसायीको भनाई छ ।
सरकार मातहतको सामाजिक कानूनी सहायता केन्द्रका अधिवक्ता कृष्ण बहादुर हमालले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक हिसाबमा सबल बनाइएमात्रै पनि हिंसा कम हुन सक्ने बताउनुभयो ।
घरेलु हिंसा नियन्त्रण गर्न बनेको ऐनमा परिवारका एउटा सदस्यले अर्को सदस्यमाथि गर्ने दुव्र्यवहार, गालीग्लौच, शारीरिक तथा मानसिक यातना, घोचपेच वा उसको इच्छाविपरीतका क्रियाकलाप नै घरेलु हिंसाको रुपमा उल्लेख छ ।
धेरैजसो घरेलु हिंसाका घटना र उजुरीहरु हेर्ने हो भने मदिरा नै हिंसाका प्रमुख कारण हुन भन्ने बुझ्न सकिन्छ । मदिरा निषेध हुने र कानूनी कारबाहीलाई बलियो बनाउने हो भने श्रीमती कुट्ने खालका क्रियाकलाप करिव–करिव सकिनेछन् । त्यसकारण मदिरा सेवन गरेर श्रीमती र परिवारका सदस्यमाथि गरिने ज्यादती नियन्त्रण गर्न पनि यो ऐनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।
- स्केच गुगलबाट !


सचिवालय । ८ माघ २०७२, शुक्रबार ०९:१२