‘मुस्लीम महिलालाई विवाह चुनौतिपूर्ण’

दीपेन्द्र ओली, सुर्खेत, ५ फागुन (निगरानी) । विवाह भन्नेवित्तिकै सवैलाई लाग्छ, कि यो सवैभन्दा धेरै खुसी गराउने क्षण हो । हो विवाह सवैभन्दा खुसीको क्षण त्यसबेला हुन्छ जुनबेला आफूले सोचेजस्तो व्यक्तिसँग जीवन जीउनका लागि सामाजिक, धार्मिक र कानूनी रुपमा सम्झौता हुन्छ । तर वीरेन्द्रनगर नगरपालिका वडानम्वर ६ सुर्खेत निवासी साजिया बानु (नाम/ठेगाना परिवर्तन) को जीन्दगी त्यस्तो बन्न सकेन ।

साजिया आफ्नो टोलमै सवैभन्दा पहिला एसएलसी उतिर्ण भएकी महिला हुनुहुन्छ । कक्षा ११, १२ पढ्ने बेला उहाँसँग धेरै पुरुषहरुले प्रेम प्रस्ताव राखे । तर फरक धर्म मान्ने व्यक्ति भएकै कारण उहाँले त्यस्ता प्रस्तावहरुको वास्ता गर्नुभएन ।
‘अरु धर्मका महिला वा पुरुषले हाम्रो समुदायकासँग विवाह गरे भने मुस्लीम नै हुनुपर्ने चलन छ’ उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म धेरै केटाहरुले त अरु धर्मका केटी ल्याएका छन् र उनीहरु मुस्लीम भएका छन् तर हाम्रो समुदायबाट अर्को धर्मका केटासँग विवाह कमैले गरेका छन् । मुस्लीम नै भा छन् ।’
उच्च शिक्षा हाँसील गरेका व्यक्तिसँग विवाह गरि जीन्दगी विताउने साजियालाई इच्छा त थियो । सामाजिक चलनमा रहेको धार्मिक हिसावले उहाँले नचिताएका व्यक्तीसँग विवाह गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । ‘म उच्च शिक्षा अध्ययन गरेकी मान्छे’ उहाँले भन्नुभयो, ‘आफ्नै कथा यसरी भन्न त उचित हुँदैन तर नाम गोप्य राख्छु भन्नुभाछ त्यै भएर भन्छु । अव विवाह गर्न मनोमर्जी नचल्ने भएरै पाँच कक्षा पढेर छोडेका, मैले मनै नपराएका मान्छेसँग विवाह गरेर बसेकी छु ।’
जुन व्यक्तीसँग सीमाले विवाह गर्नुभयो उहाँसँगको उमेर दाँज्ने हो भने यो अनमेल विवाह पनि हो । साजियाको उमेर २० वर्ष हुँदा ३० भन्दा बढि उमेर पुगेका व्यक्तिसँग घरपरिवारले विवाह गरिदिए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका वडानम्वर ६ कै सपितुन विवि (नाम/ठेगाना परिवर्तन) को विवाह गर्ने उमेर हुँदा उहाँका घर परिवारलाई चिन्ता लाग्न थाल्यो कि अव उ विवाह गर्न पाउँदिन कि भनेर । मुसलमान धर्म मान्नेहरुले मुसलमान धर्म मान्ने मान्छेसँगै विवाह गर्दा राम्रो मानिन्छ तर संख्या चाँहि थोरै छ ।
एक दिन बाँके जिल्ला निवासी मुसलमान समुदायकै व्यक्तिहरु हविकालाई विवाहको प्रस्ताव लिएर हविकाकै घरमा आइपुगे । तर सपितुनले त चिन्नुभएको थिएन नै त्यो परिवारका अन्य सदस्यहरुले पनि ती व्यक्तिहरुलाई पहिला राम्रोसँग चिनेनन् । त्यै दिनमै सपितुनको विवाह गरिदिने निधो परिवारजनले गरे । ‘धर्म विग्रिन्छ कि भनेरै हामीले आएका पाहुँनालाई नफर्काएर सपितुनलाई सुम्पिन पुग्यौँ, हविकाका माइतीहरु भन्छन्, अहिले उसलाई धेरै दुःख दिइराछन् अरे अस्ति आको बेला भन्थि ।’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्र स्थायी रुपमा करिव ४५ सय जनाको हाराहारीमा जनसंख्या रहेको छ । त्यसमध्ये ६० प्रतिशत संख्या महिलाको रहेको मुसलमान अगुवाहरुको भनाई छ । मुसलमान समुदायमा अहिले यहि विषयमा वहस चल्छ, धर्मकै विग्रिन्छ भनेरै आफ्नै धर्मभित्रका भनेर विवाह गर्नाले कतिपयको जीन्दगी नै विग्रियो भनेर । स्थानीय समाजसेवी अमिर खाँ भन्नुहुन्छ, ‘अव हाम्रा केटारु अरु धर्मलाई व्या गरेर ल्याइदिन्छन्, आफ्नै गाउँघरकी छोरीचेली समस्यामा पर्छन् ।’
आफ्नै गाउँभित्रका पुरुषहरुले बाहिरबाट विवाह गरिदिएपछि बाध्यताले नचिनेका, नजानेका र टाढाका व्यक्तिसँग विवाह गरेर पठाइदिनुपर्ने बाध्यता रहेको खाँको भनाई छ । ‘त्यस्ता खालका विवाह गर्दा धेरै जोखिम र खताहरु आउनसक्छन्, उहाँ भन्नुहुन्छ, ‘कि त धार्मिक रुपमा खुकुलो व्यवस्था गरेर महिलाहरुलाई सजिलो पार्नुपर्यो कि त आफ्नै धर्मकाले अर्को धर्म अथवा ठाउँबाट व्या गर्नु भएन ।’