दीपेन्द्र ओली,
सुर्खेत, १६ फागुन (निगरानी) । ‘अरु ठाउँका मुसलमानभन्दा सुर्खेतका मुसलमानहरु धेरै विकसीत भइसकेका छन्, तर पनि लैँगिक हिसावले धेरै अप्ठ्यारो अझै बाँकी छ ।’ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मसलमान समुदायमा बस्ने एक महिला (नाम लुकाइएको) को भनाई ।अन्य धेरैजसो ठाउँका मुसलमान महिलाहरुले अनुहारै ढाकिनेगरि ‘बुर्का’ लगाउनुपर्ने बाध्यता रहे पनि सुर्खेतमा त्यस्तो अवस्था छैन । ‘सवैभन्दा हिंसा भनेको ‘तलाख’ (सम्वन्ध विच्छेद गर्दा प्रयोग गरिने शव्द) नै हो’ उहाँले भन्नुभयो, ‘न कानूनी प्रक्रया छ न महिलाका कुरा सुनिन्छ, महिलाले नचाहँदा नचाहँदै पनि पुरुषले ‘तलाख’ दिने गरेका छन् ।’
‘मेरो नाम सार्वजनिक नगर्ने भए मेरै घटना पनि छ’ उहाँको भनाई थियो । विं.सं. २०६५ साल वैशाखमा आफ्नो जस्तै इस्लाम धर्म मान्ने गाउँकै एक व्यक्तिसँग ‘निगाह’ (विवाह) गर्नुभएका उहाँले पनि ‘तलाख’ कै कारण हिंसा व्यहोर्न बाध्य हुनु परेको थियो ।
‘निगाह’ भएको दुई वर्षसम्म उहाँहरुको सम्वन्ध राम्रै भयो । श्रीमान गाडि चलाउनु हुन्थ्यो, अझै पनि उहाँ गाडि नै चलाउनु हुन्छ । ‘गाडि चलाउन सुर्खेत बाहिर पनि पुग्ने भएकाले उहाँले मलाई मायाँ गर्न छाडे जस्तो मैले महसुस गरेँ’ उहाँले विगत सम्झँदै बताउनुभयो, ‘मैले सोधेँ तपाई किन मलाई घृणाँ गर्नुहुन्छ ?’
‘श्रीमानले तँ जस्तो मान्छेसँग कुन दिन भेट भएछ ?, तनाव भइरा बेला नबोल् न’ भनिसकेपछि विवाद भयो । पछि झगडाको रुपमा सम्वन्ध पुग्यो । ‘केहि समय म माइतमा बसेँ, तर ममी अव्बा (आमा बुवा) ले कर गरेपछि म फेरी घर फिर्ता पनि भएँ’ उहाँको कथन थियो ।
घरमा आउँदा उहाँले श्रीमानको हातबाट उल्टै चोट सहनुपर्यो । ‘मैले पनि चोटका कारण रिस बढेर झर्केर बोलेँ’ उहाँले भन्नुभयो, ‘त्यसपछि त उहाँले मलाई ‘तलाख’, ‘तलाख’, ‘तलाख’ भन्नुभयो अव मैले जसरी पनि छुट्टिएर बस्नुपर्ने बाध्यता आयो ।’
फेरी माइतमा रुँदै फर्किँदाको अर्को विकल्प उहाँले देख्नुभएन । ‘माइतमा पुगेपछि आमाले भन्नुभयो, के गर्छेस् त छोरी हाम्रो समुदायमा यस्तै बाध्यता छ, छोरी मान्छेले भनेका कुरा कहिले पो लागू भा छ र ?’
‘केहि समय पछि उहाँ नै मलाई भेट्न आइपुग्नुभयो र आफ्नो गल्तीको प्रयाश्चित गर्नुभयो’ उहाँले खुसीको कुरा सुनाउनुभयो, ‘म पनि उहाँसँग जीवन निर्वाह गर्न फेरी पनि मन्जुर भएँ ।’
तर उहाँहरु दुवै जनाले मात्रै चाहेर पनि केहि हुन सक्दैनथ्यो । किनकी, ती महिलाले फेरी अर्को एक जना अविवाहित पुरुषसँग ‘निगाह’ गरेर कम्तिमा एक रात सँगै सुत्नुपर्ने र उसले ‘तलाख’ दिइसके पछि मात्रै आफ्ना पुराना श्रीमानसँग ‘निगाह’ गर्नुपर्ने परम्परा छ । समुदायका गन्यमान्य व्यक्तिहरुले छलफल गरे पनि आएको निष्कर्षअनुसार उहाँले पनि त्यो बाध्यतालाई स्वीकार गर्नुपर्ने भयो ।
‘त्यो अवधिमा त्यो केटाले मसँग यौन सम्वन्ध राख्न खोज्यो उहाँले भन्नुभयो, ‘मैले अस्वीकार गर्दा उसले कुटपिट पनि गर्यो र मैले प्रतिकार गरिरहेँ ।’ भोलीपल्ट विहानै त्यो पुरुषले भन्यो, ‘जवसम्म मसँग यौन सम्वन्ध राख्न मन्जुर हुँदैनस् तवसम्म तँलाई ‘तलाख’ दिन्न अनि कसरी हुन्छ तेरो घरबार ?’
ती पुरुषले केहि दिनसम्म ‘तलाख’ नदिँदा निकै अप्ठ्यारो भयो । गाउँघरमा उहाँहरुको सम्वन्धलाई लिएर नयाँ वहस पनि शुरु भयो । उहाँले आँखाभरी आँशु बनाएर भन्नुभयो, पछि म बाध्य भएँ । यो कुरा मेरो श्रीमानलाई पनि अप्रत्यक्ष रुपमा थाह होला तर मैले भनेकी पनि छैन ।
आफूहरुको सम्वन्ध फेरी जोडिएकोमा आफूहरु निकै खुसी रहेको उहाँको भनाई छ । तर ‘तलाख’ कै कारण भोग्नु परेको पींडा सम्झँदा उहाँको मन अमिलो बन्छ ।
यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । यस्ता घटना मुसलमान समुदायमा भएका हुन्छन् तर बाहिर सार्वजनिक हुँदैनन् । सम्वन्ध पुनः सुचारु गराउन बीचमा छोटो विवाह गर्ने सवै हिंसा गर्ने पुरुष नभए पनि कतिपयले भने यौन चाहना राख्ने नै गरेका पाइन्छ ।
महिला अधिकारकर्मीहरु धार्मिक रुपमा जे जस्तो अवस्थामा रहे पनि महिलालाई हिंसा हुने खालका कुनै क्रियाकलाप गराउन नहुनेमा जोड दिन्छन् । अक्सफामको साझेदारीमा प्रेरणा ललितपुर र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले सञ्चालन गरेको महिला नेतृत्व परियोजनाका कार्यक्रम प्रमुख रिता विसीले अहिले सम्म यस्ता विषयहरु मुुसलमान समुदायबाट बाहिर आउन नसकेको बताउनुभयो । सुर्खेतमा रहेका मुसलमान समुदायका महिलाहरुले त बुर्का पनि नलगाउने प्रशंगमा कुरा गर्दै उहाँले यो सकारात्मक पक्ष भए पनि ‘तलाख’ का विषयमा भने त्यहाँका समाजसेवी र वुद्धिजीवीले सोच्नै पर्ने बताउनुभयो । ‘धर्म, संस्कार र परम्परा नमान्ने भन्न खोजेको होइन’ विसीले भन्नुभयो, ‘तर विभेदकारी र हिंसाप्रदत्त क्रियाकलापलाई भने निरुत्साहित गर्नुपर्छ ।’
स्क्याचःगुगलबाट ।

सचिवालय । १७ फाल्गुन २०७२, सोमबार ०३:२८