प्रत्येक वर्ष असार १५ गते रोपाइँ महोत्सवका रूपमा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कृषि प्रधान हाम्रो मुलुकमा खाद्यन्नको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै कृषकको मनोबल उच्च बनाइ उहाँहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । आजको दिनलाई रोपाइँ महोत्सव, हिलो खेल्ने दिन, दही चिउरा खाने दिन जस्ता नामले पनि चित्रण गर्ने गरिएको छ । रोपाइँमा एक-आपसमा सघाउने (परिमो) र रोपाइँ गर्दै असारे भाकाका गीत गाउने जस्ता क्रियाकलापहरूले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो काम गरिरहेको हुन्छ ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार गर्न सकिने, आयात प्रतिस्थापन गरी धानमा आत्मनिर्भर बन्न सकिने र व्यावसायिक उत्पादन मार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको छ । यसको लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ । यसो गर्न सकेमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्नमा सहयोग पुग्ने र यस दिशामा सरोकारवालाका कदमहरू अगाडी बढ्ने प्रेरणा मिल्ने विश्वास लिएको छु । यसै दिवसको अवसर पारी गुराँस गाउँपालिका सरकारले ४ नम्बर वडास्थित घोडाबासमा कृषि अनुसन्धान तथा उत्पादन केन्द्रको औपचारिक उद्घाटन गर्दैछ ।
अन्तमा, यस दिवसले नयाँ पुस्तालाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै आत्मनिर्भर बन्न थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०८० असार १५ गते ।

सचिवालय । १६ असार २०८०, शनिबार ११:१८