‘म्यासेन्जर देखि म्यानेजरसम्म’ दीपेन्द्र ओली

प्रीय बहिनी भावना रानाक्षेत्रीले मेरो व्यक्तिगत प्रोफाइल तयार गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार अध्ययनरत बहिनी भावनाले स्नातक तहको आंशिक पाठ्यभार पूरा गर्न प्रोफाइल तयार गरेको बताउनुभएको छ । भावना हाल जागरण एफ एममा कार्यरतसमेत हुनुहुन्छ । मेरो बाल्यकालदेखि हालसम्मको अवस्थालाई खोतल्नुभएकोमा भावनालाई धन्यवाद छ । उक्त प्रोफाइल यस ब्लगमा पोष्ट गर्न सान्दर्भिक नै होला भन्ने ठानेको छु । 

म्यासेन्जर देखि म्यानेजरसम्मदीपेन्द्र ओली

लेखकः

भावना राना क्षेत्री

स्नातक तह (पत्रकारिता तथा आमसञ्चार)

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत

परिचयः

‘बबन’ जसको वास्तविक नाम हो दीपेन्द्र ओली । तर उहाँका आफन्तजन तथा समकालिनहरुमध्ये उहाँलाई थोरै जनाले दीपेन्द्र भनेर चिन्छन् र बबन भनेर धेरैले । अझ बोलाउनुपर्‍यो भने ‘ए…बबने’ भन्छन् । न्वारनको नाम ‘दोर्ण’ त कसैलाई याद छैन नै भन्दा हुन्छ । उहाँ बुवा रुद्रबहादुर ओली र आमा भविसरा ओलीका जेष्ठ पुत्रका रुपमा वि.स. २०४८ साल असोज ९ गतेका दिन तत्कालीन लालिकाँडा गाउँ विकास समिति वडा नम्बर २ (हालको गुराँस गाउपालिका ८) मा जन्मिनुभएको हो । उहाँका अरु तीन जना भाईबहिनी चन्द्र, दीपा र नवराज छन् । उहाँले तत्कालिन अवलचिङ्ग गाउँ विकास समिति (हाल चिङ्गाड गाउँपालिका) का खड्गराज उपाध्याय र देउरुपाको कान्छि छोरी सम्झनासँग २०६६ सालमा विवाह गर्नुभएको छ । उहाँको नामको सन्दर्भमा रमाइलो घटना छ, दीपेन्द्रको बुवा-आमाको बिवाह भएको धेरै वर्षपछि सन्तान प्राप्ति भएपछि गाउँघरमा ‘बबन्डर’ मच्चियो । ठट्टै-ठट्टामा उहाँको बुवाले ‘गाउँभर बबन्डर मच्चिनेगरी जन्मिएको छोराको नाम म बबन राखिदिन्छु भन्नुभयो’ । तर उहाँको कान्छो हजुरबुवा (जो ‘ज्योतिष’ हुनुहुन्छ) ले दोर्ण ओली नामाकरण गर्नुभयो । त्यसपछि बुवाले राखिदिएको ‘बबन’ नाम कथ्य नाममात्र भयो । उतिबेला ३५ दिनभित्रै जन्मदर्ता गर्नैपर्ने नियम थिएन । सरकारी रेकर्डमा सबैभन्दा पहिला नाम दर्ज हुने अड्डा नै विद्यालय थियो । विद्यालयमा नाम लेखाउन आमा भविसरा जानुभयो । उहाँले न्वारनअनुसारको दोर्ण ओली नाम लेखाइदिनुभयो । पाँच कक्षा उतिर्ण गरिसकेपछि दोर्णबाट उहाँको नाम दीपेन्द्र बन्यो । उतिबेला माथिल्लो कक्षा पढ्न अर्को विद्यालय जानुपरेमा शिक्षकहरुले नै मिलाएर सजिलो लाग्ने नाममा सर्टिफिकेट बनाइदिने चलन थियो ।

बाल्यकालको स्वभावः

उहाँ सानै उमेर देखि नै जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । उहाँले नयाँ-नयाँ कुराहरु जान्न खोज्न अत्यन्तै मन पराउने उहाँकी आमा भविसराले बताउनुभयो । भविसराले भन्नुभयो, “उसले सानो-सानो कुराहरु पनि सोधिखोजी गरिरहन्थ्यो र एक पटक जानेको वा थाह पाएको कुरा कहिल्यै बिर्सँदैन्थ्यो ।” दीपेन्द्र बाल्यकालदेखि नै सबैसँग सुमधुर सम्बन्ध राख्ने, मिजासिलो स्वभावको हुनुहुन्थ्यो । दीपेन्द्रका बाल्यकालका साथि र परिवारकाअनुसार उहाँले अरुसँग झै-झगडा गरेको कुनै घटना छैन । बरु सानैदेखि नराम्रो कुराको सधै विरोधमा उत्रिने गर्नुहुन्थ्यो । पहिला पार्टीका गतिविधि रुद्रकै घरमा हुन्थे । स्थानीय जीतबहादुर ओली भन्नुहुन्छ, “त्यहाँ भेला हुन पुग्ने सबैको काखमा दीपेन्द्र पुग्थ्यो र सबैको पाकेट चेकजाँच गरी सुर्ति, चुरोट, बिंडि, सुल्पा जे जे छ उसले फ्याँकिदिन्थ्यो ।” पाकेट मात्रै नभई मुखभित्रै छ भने पनि निकाल्न दीपेन्द्रले बाध्य पारेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सानो बच्चाले त्यसो गर्दा लाज मानेर भए पनि फ्याँक्नुपर्थ्यो ।” दीपेन्द्रका बुवा रुद्र भन्नुहुन्छ, “यसले सानैदेखि आफूभन्दा माथिल्लो उमेर समूहका मान्छेसँग नै संगत गर्न अलि बढी रुचाउँथ्यो ।” मध्यमवर्गीय परिवारमा जन्मिनुभएका दीपेन्द्रको बाल्यावस्था उतारचढावमा बित्यो । राजनितिक र सानोतिनो व्यापारिक परिवार भएकाले बाल्यकालमा कहिले राजनितिक कारणले त कहिले व्यापारिक घाटा/फाइदाको कारण उहाँको परिवारले धेरै उतारचढाव व्यहोर्नुपर्‍यो ।

माध्यमिक तहको शिक्षाः  

दीपेन्द्रलाई शिक्षा प्रारम्भका लागी वि. स. २०५५ साल देखि श्री जनसहयोग नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खनारा (हाल श्री जनसहयोग नेपाल राष्ट्रिय आधारभूत विद्यालय  गुराँस ८) दैलेखमा पुर्‍याइयो । उहाँले त्यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरी कक्षा ६ अध्ययनको लागि तत्कालिन श्री कालिका निम्न माध्यमिक विद्यालयमा गर्चा (हाल कालिका माध्यमिक विद्यालय गुराँस ८) दैलेखमा जानु भयो । कक्षा ७ र ८ भने उहाँले श्री अमरज्योति नमूना उच्च माध्यमिक विद्यालय (हाल श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय) वीरेन्द्रनगर १२ नेवारे-चनौटे सुर्खेतमा अध्ययन पछि कक्षा ९ र १० श्री मालिका माध्यमिक विद्यालय गुराँस ८ दैलेखमा अध्ययन गर्नुभयो । त्यसबेला फलामे ढोका मानिने एस. एल. सी. दीपेन्द्रले २०६५ सालमा प्रथम श्रेणीमा उतिर्ण गर्नुभएको हो । पठनपाठनको क्रममा पाठ्यपुस्तकको शिक्षाभन्दा अतिरिक्त शिक्षामा समेत राम्रो ज्ञान राख्ने गर्दा दीपेन्द्र शिक्षक-विद्यार्थी सबैको प्रिय पात्र हुनुहुन्थ्यो । मालिका माध्यमिक विद्यालयमा त्यतिबेला उहाँलाई शिक्षण गर्नुहुने शिक्षक तेजेन्द्र वि.सी. भन्नुहुन्छ, “पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई आफ्नो समाज र समसामयिक विषयवस्तुसँग राम्रैसँग कनेक्ट गर्ने क्षमता सानैदेखि दीपेन्द्रसँग थियो ।”

उच्च शिक्षा र सञ्चारकर्म सँगसँगैः

एस. एल. सी. पछि वि. सं. २०६५ असारदेखि उहाँ सञ्चारकर्ममा लाग्नुभयो । सुरुमा एक हप्ताको पत्रकारिता तालिम प्राप्त गरिसकेपछि उत्कृष्टताको आधारमा बाँकेबाट प्रसारणमा रहेको रेडियो कृष्णसार एफ. एम. मा सुर्खेत-दैलेख संवाददाताको रुपमा काम गर्नुभएका दीपेन्द्रले २०६६ असोजदेखि दैलेखको पहिलो सामुदायिक रेडियो, रेडियो पञ्चकोशी एफ. एम. (हाल बन्द) मा समाचार तथा कार्यक्रम प्रस्तोतामा नियुक्त हुनुभएकोमा पठनपाठन र काम सँगसँगै गर्ने भन्दै २०६६ माघ महिनामै सुर्खेत झर्नुभयो । कक्षा ११ र १२ श्री श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय (श्री श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय) वीरेन्द्रनगर ७ इत्राम सुर्खेतमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्दै जागरण एफ. एम. सुर्खेतमा उहाँ कार्यरत रहनुभयो । केहि समय पहिला उहाँले मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयबाट स्नातक तह पुरा गर्नुभएको छ ।

म्यासेन्जर देखि म्यानेजरसम्म

रेडियो पत्रकारिताको सुरुवातको ६ महिना (पञ्चकोशी र जागरण दुबैमा ३-३ महिना) दीपेन्द्र ओलीले म्यासेन्जर (संवाददाता) भएर काम गर्नुभयो । त्यसपछि जागरण एफ. एम. सुर्खेतमा ६ महिना प्राविधिक र त्यसपछिको एक वर्ष समाचार वाचक भई काम गर्नुभएकोमा २०६८ असोजदेखि २०७० सम्म समाचार प्रमुख भएर जिम्मेवारी निर्वाह गर्नुभयो । २०७० देखि उहाँलाई थप जिम्मेवारी प्राप्त भयो । समाचार प्रमुखको साथै उहाँ अव कार्यक्रम संयोजकको रुपमासमेत काम गर्नुपर्ने अवस्थामा पुग्नुभयो । यो जिम्मेवारी २०७३ भदौ ३१ सम्म रह्यो । २०७३ असोज १ देखि १९ सम्म निमित्त स्टेसन म्यानेजर बन्नुभएका दीपेन्द्रलाई जागरण एफ. एम. सञ्चालक समितिले २०७३ असोज २० गतेदेखि लागू हुनेगरी कार्यालय प्रमुख (स्टेसन म्यानेजर) मा नियुक्ति गर्‍यो । २०७७ सालदेखि स्टेसन म्यानेजरको जिम्मेवारी बिसाएर उहाँले कर्णाली प्रदेशका प्रदेश प्रमुखको सञ्चार हेर्नेगरी सचिवालयमा काम गरिरहनुभएको छ । जागरण एफ. एम. को इतिहाँसमा दीपेन्द्र नेतृत्त्वको कार्यकाललाई तुलनात्मक रुपले सफल कार्यकाल हो । यसपछिका नेतृत्त्वमा आउनेहरुले अझै राम्रो समेत गर्न सक्छन् । यद्यपी, धेरै सञ्चार माध्यमहरु व्यापार घाटामा पुगेका बेला उहाँकै कार्यकालदेखि जागरण एफ. एम. मुनाफाको दिशामा अघि बढेको हो भने रेडियोमा प्रसारण हुने विषयवस्तुमा निखारता एवं रेडियोलाई स्थायीत्त्व दिने सवालमा अब्बल सावित भएको छ । यसैगरी कर्णाली प्रदेशमा पहिलो पटक विभिन्न जिल्लाका अरु रेडियोसँगको नेटवर्किङ्ग तथा प्राविधिक रुपमा रेडियोलाई बलियो बनाउने काम दीपेन्द्रको कार्यकालमा भयो । जागरण एफ. एम. हालसम्म बढीभन्दा बढी समुदायमा श्रोता समूह जस्ता संरचनालाई आधार बनाएर सञ्चालन भइरहेको रेडियो हो । रेडियोकर्मको लामो इतिहाँसमा जागरण एफ. एम. बाटै प्रतिनिधित्त्व गरी दीपेन्द्र ओली सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याव) को कर्णाली प्रदेश सचिवसमेत निर्वाचित हुनुभएको छ । उहाँ समाचार लेखन तथा वाचन, कार्यक्रम सञ्चालन, रेडियोको प्राविधिक ज्ञान, व्यवस्थापकीय कुशलताका साथै उद्घोषण तथा भाषणकलाबारे उम्दा दर्जाको प्रशिक्षकको रुपमा पनि चर्चित रहनुभएको छ ।

प्रेरणाः

दीपेन्द्रले थुप्रै व्यक्तिहरुलाई तालिम तथा परामर्शको माध्यमबाट विभिन्न क्षेत्रमा क्रियाशील बनाउन प्रेरणा प्रदान गर्नुभएको छ । दीपेन्द्रले करिव साढे १ दर्जन त सञ्चारकर्मी नै उत्पादन गर्नुभएको छ । मलाई पनि सञ्चार क्षेत्रमा दीपेन्द्र दाईले नै आकर्षित गर्नुभएको हो । सञ्चारकर्मी टेकराज केसी भन्नुहुन्छ, “सिकाउने, हप्काउने सबै गुण भएका दीपेन्द्र दाईले सानो-सानो कुरामा पनि ध्यान दिनुहुन्छ ।” उहाँले थप्नुभयो, “दीपेन्द्र दाईले यो गर्नु है भनेर भन्नुभयो भने त्यो काम नहुञ्जेलसम्म फ्लोअप गरेको गर्‍यै गर्नुहुन्छ । कहिलेकाँहि त कति फ्लोअप गर्नु परेको होला भनेर दिक्क लाग्छ तर सम्झिन्छु उहाँले राम्रैको लागि त गर्नुभएको होला ।” उहाँ दुःख, कष्ट वा असफलतामा कहिल्यै आत्तिनुभएन र सुख र खुसीमा कहिल्यै मात्तिनुभएन । दीपेन्द्र भन्नुहुन्छ, “दुःख, कष्ट वा असफलताको पछाडि आफ्नो काम गर्ने तौरतरिका नपुग्नु वा लगनशीलतामा कमी हुनु जस्ता कारण लुकेका हुन्छन् । जसलाई पहिचान गरेर थप सुफलताको लागि क्रियाशील हुनुपर्छ ।” उहाँबाट काममा लगनशीलता, संघर्ष, धैर्यताको साथ अघि बढ्नपर्छ भन्ने प्रेरणा जो कोहिले प्राप्त गर्न सक्छन् ।

मितिः २०७७ पुस १ गते बुधवार ।

 

प्रोफाइलः