
दीपेन्द्र ओली ।
शुभकामनाः
‘जनताको आवाज’नारासहित २०६५ साल भदौ ३१ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरबाट निरन्तर प्रसारणमा रहेको सामुदायिक रेडियो, जागरण एफ. एम. ९० थोप्लो ८ मेगाहर्ज १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रेडियो सञ्चालक संस्था हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. का सम्पूर्ण शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, रेडियोका विभिन्न फाँटमा क्रियाशिल सहकर्मी साथिहरु, रेडियो श्रोता समूहमा आवद्ध साथिहरुसहित सम्पूर्ण श्रोतागण तथा रेडियोमा निरन्तर साझेदारी गर्नुहुने सहयोगी एवं साझेदार निकायमा हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
जागरणको यात्राः
जागरण एफ. एम. ले हाल ‘टिनएज’ अर्थात् किशोरावस्थाको यात्रा गरिरहेको छ । किशोरावस्थासम्म आइपुग्दा विविध चुनौतिहरुको सामना गर्दै गौरवमय इतिहास बोकेको छ । तर थाकेको छैन र थाक्नेवाला पनि छैन । धेरै प्रकारका मिडियाहरुको भिंड तर सानो श्रोता संसार र सानो विज्ञापन बजार भएको बेला प्रभावकारी र गुणस्तरीय प्रसारण गर्नुपर्ने हाम्रोसामू जिम्मेवारी थियो । जुन एउटा साँघुरो बाटोमा लावालस्कर जन्तिजस्तै देखिन्थ्यो । लावालस्कर जन्तिभित्र आफूलाई पृथक देखाउन पनि गाह्रै पर्छ भनिन्छ । यद्यपी हामिले छोटो समयमा आफूलाई पृथक रुपमा प्रस्तुत गर्न सक्यौँ, गुणस्तरीय प्रसारण गर्न सक्यौँ । म आफूलाई निकै भाग्यशाली ठानिरहेको छु । स्थापनाकालदेखि जागरण सँगसँगै छु । यो बिचमा ‘मेसेन्जर देखि मेनेजरसम्म’ अर्थात् संवाददाता, प्राविधिक (थोरै समय), समाचार प्रमुख, कार्यक्रम संयोजकलगायतका जिम्मेवारीमा पुगेँ । कैँयन् हण्डर ठक्करका बिचबाट मेरा जिम्मेवारीहरु पूरा गर्न सकेँ । हाल कर्णाली प्रदेशका सामुदायिक रेडियोहरुको नेटवर्कको रुपमा जागरणलाई परिचित गराउन सकेका छौँ । कर्णालीका ४२ सामुदायिक रेडियोमध्ये जागरण एफ. एम. सहित विभिन्न २८ वटा सामुदायिक रेडियोहरु हाल ‘मितेरी’ सम्बन्धमा रहेको सबैलाई अवगत भएकै कुरा हो । अव पहिलाजस्तो महंगो भाडाको समस्या छैन । पारिश्रमिक पाइने हो कि होइन-समयमै पाइने हो कि होइनजस्ता विषयमा कर्मचारी साथिहरुले टाउको दुखाउनुपर्ने छैन, बरु चित्त बुझ्दो पारिश्रमिक, वार्षिक बोनस, चाडपर्व पेश्की र बिमासम्बन्धि सुविधा उपभोग गर्न सकिएको छ । पटक-पटक विभिन्न उपकरणहरु बिग्रिरहने समस्या धेरै झेल्नुपर्ने छैन । अब व्यापार घाटा पनि छैन । यहाँसम्मको यात्रालाई गतिशील बनाउने कार्यमा संस्थापक अध्यक्ष टीकाराम आचार्यसहित संस्थापकहरु पूर्णप्रसाद पौड्याल (हाल अध्यक्ष), कुलमणी देवकोटा, गोपिकृष्ण ढकाल, मीना तिवारी शर्मा, नवराज खड्का(हाल सचिव), खगेन्द्रप्रसाद सापकोटा र ओमप्रकाश सुवेदी तथा पूर्व स्टेसन मेनेजरहरु कविन्द्रकुमार केसी (हाल सिम्ता गाउँपालिका अध्यक्ष), युवराज शर्मा(हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्राध्यापक), प्रेमबहादुर चन्द (प्लान इन्टरनेशनल), राजन कँडेल (हाल शिक्षक), अकबर खान (मिडिया फिल्डमै) लगायत विभिन्न चरणमा धेरै प्रकारका जिम्मेवारीमा रहनुहुने तत्कालिन जागरणकर्मी साथिहरुमा श्रेय जान्छ । सबै जनाको नाम उल्लेख गर्न मन हुँदा पनि गन्थन कम गर्नुपर्ने बाध्यताको बिच म यस घडिमा सबै सबैलाई सम्झन चाहन्छु ।
अवको यात्राः
जागरण एफ. एम. ले अझै लामो यात्रा गर्नुपर्ने छ । हिजोको समय आज छैन र आजको समय भोली हुने छैन । श्रोताको सोचाईको स्तर, रेडियो सुन्ने तौरतरिका, प्रविधिमा आएका परिवर्तन र दायरा हिजोभन्दा आज चौडा छ भने भोलिको समयमा अझै फराकिलो बन्दै जानेछ । त्यसैले रेडियोका ‘कन्टेन्ट’ अर्थात् रेडियो कार्यक्रमका सवाल र प्राविधिक विकासमा समयानुकूल फड्को मार्दै अघि बढ्नुपर्छ, बढ्नैपर्छ । रेडियो प्रस्तोता तथा अन्य क्षेत्रमा क्रियाशिल साथिहरुले आफूलाई अपडेट र अपग्रेट गर्नुपर्छ । सामुदायिक रेडियो समुदायसँग जोडिन सकेमात्र खास अर्थमा प्रभावकारी र लोकप्रिय बन्नसक्छ । समुदाय र श्रोताहरुको चाहना तथा मागअनुसारका कार्यक्रमहरुलाई परिमार्जन र सुधार गर्न जरुरी छ । म निश्चिन्त छु. रेडियोको हालको नेतृत्त्व, कर्मचारी साथिहरुको गतिशिलता, साझेदार तथा विज्ञापनदाताको साथ,विगतको इतिहाँस सबै हाम्रो लागि सवल पक्ष हो ।भोलिको दिन अझै सुनौलो हुनेछ । अन्तमा, सबै सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !

सचिवालय । ३० भाद्र २०७८, बुधबार ०८:२०